ऋषि सुशासिता रम्य यी धरा कति हराभरा झन् वसुन्धरा । हरि महेशको पावनस्थली किन बढे यहाँ दुष्ट पातकी ।।१।।
विदित विश्वमा बुद्ध जन्मले सबल पौरखी उच्च कर्मले । चकित विश्व नै एकता बल किन हुँदैछ यो आज दुर्बल ।।२।।
नियत स्वार्थले देशको छवि कपट कर्मले हो कि दुर्गति । बल छ बाहुमा विश्वको शिर हिमछटा अझै छन् मनोहर ।।३।।
विविध देशका पाहुना यहाँ भ्रमण गर्दछन् झन् सराहना । जनकनन्दिनी जानकी यहीँ सुकृत कर्मले लोक पावनी ।।४।।
नदनदीहरू शान्त शीतल सुयश गाउँदै झर्दछन् तल । अलभ छन् अझै विश्वसम्पदा विविधता अहो ! झन् कताकता ।।५।।
