काव्यसंसारमा चम्किला तारका छन् निकै नामका कार्यव्यापारका हेर्नुपर्दा भने सूक्ष्म लेखा गरी को छ होला भला देवकोटासरि ।
गद्यमा, पद्यमा छन् निकै साधक गीत सङ्गीतका छन् निकै नायक बज्दछन् शिल्पले वाङ्मयी बाँसुरी किन्तु छैनन् कुनै देवकोटासरि ।
रम्य आख्यानका प्रीति व्याख्यानका छन्द चातुर्यका व्यङ्ग्य सन्धानका देवकोटा भने छन् बडा उज्ज्वल चम्किए काव्यआकाशमा झल्झल ।
‘यो सहस्राब्दमा देवकोटासरि छैन है काव्यमा झल्किने माधुरी’ भन्दथे रे बडा विज्ञ ती ‘राहुल’ देवकोटा थिए काव्यका सौरभ ।
बोल्नमा, लेख्नमा चौध भाषाभरि सक्दथे जोसुकै छक्क पर्ने गरी सत्यमा शारदाका स्वयं रूप हुन् काव्य सौगन्ध हुन्, मग्मगे धूप हुन् ।
छन् महाकाव्य वा काव्यका थाक छन् भावगाम्भीर्यले, उच्च आलाप छन् यी अव्याख्येय हुन् प्राज्ञ सर्वोपरि बन्न सक्ला र को देवकोटासरि ?
